Saturday, September 24, 2011

साइकल चढौँ पृथ्वीलाई माया गरौँ


केही दिन अगाडी सञ्चारमाध्यममा खाद्यन्नमा भएको मिसावट र त्यसको लागि वाणिज्य विभागले गरेको अनुगमन र कारबाहीले निकै चर्चा कमायो । फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल साइटहरुमा पनि यस कुरा निकै छायो । काठमाडौँ लगाएतका केही सहरहरुमा मिसावटको बारेमा कुरा चलिरहँदा हामीले प्रत्येक क्षण लिईरहेका हावाको मिसावट (वायु प्रदुषण) को बारेमा चहिँ कहीँ चिन्तन मनन नभएको देख्दा मलाई दुख लागेर आउँछ । त्यसको कतै चर्चा सुनिन्न । सबैले महसुस गरेकै हो काठमाडौँको हावा स्वच्छ छैन । केही घण्टा सडक छेउ हिँडिरहने हो भने नाक, आँखामा धुवाँ जम्छ । गाउँबाट पहिलो चोटी काठमाडौँ छिरेकाले हावा नमिठो गन्हाउने महसुस गर्छन् । यसको बारेमा सम्बन्धित विज्ञले विस्तृत अध्यायन गर्ने हो भने झन् स्थिति भयावह रहेको कुरा सार्वजनिक हुन सक्छ । यसको परिणाम विभिन्न आँखा र स्वासप्रस्वास लगाएतका विभिन्न रोगको सिकार हुन हामी बाध्य छौँ । खाद्यपदार्थमा भएको मिसावट भन्दा यो गम्भिर सवाल हो । किनकी हावा विना हामी मानव लगाएत सबै जीव जन्तु बाँच्न सक्दैनौँ । त्यसैले हामीले प्रत्येक सेकेण्ड सेकेण्डमा लिने गरेका हाम्रो वायुमण्डलको हावा स्वच्छ राख्न हामी सबै जिम्मेवार नागरिक लागिपर्नु पर्छ ।

वायु स्वच्छ राख्न हाम्रा गाउँ सहरलाई वातावरण मैत्री राख्नु पर्छ । पछिल्लो समयमा महानगरले प्लाष्टिक प्रयोगमा कमि ल्याउन चालेको कदम निकै प्रसंसनिय छ । यसमा सबैले साथ दिनु पर्छ । वायु स्वच्छ राख्ने उपायहरु यहाँ उल्लेख गरी रहनु भन्दा यसको लागि एउटा सानो अभियान स्वरुप साइकल प्रयोगको अभियान चलाउँ भन्ने यस लेखको उद्देश्य हो । केही समय अगाडी लक्ष्मी बैंकका कर्मचारीहरुले चलाएकोे अभियानलाई विभिन्न निकायले पनि व्यापकता दिदा राम्रो होला ।
अचेल फेसनकै रुपमा जसरी भए पनि मोटरसाइकल चढ्नुपर्ने चलन सहर हुँदै गाउँ सम्म पुगीसकेको छ भने सहरमा महँगा गाडीको फेसन चलेको पाइन्छ । यस्ता ईन्जिन गाडीको बढ्दो आयातले रेमिट्यान्सबाट धानिरहेको हाम्रो देशको अर्थतन्त्रको वार्षिक कुल निर्यात बराबरको रकमलाई पनि उछिन्न लागेको विज्ञहरु बताउँछन् । यसको लागि इन्धन आयातको त हिसाब नै छुट्टै छँदैछ । त्यसैले यस अभियानले व्यापकता पाएमा देशको अर्थतन्त्रमा पनि सुधार आउने थियो । व्यक्तिगत रुपमा पनि साइकल चलाउँदाका धेरै फाइदाहरु छन् । कम मुल्य पर्ने, मर्मत सम्भारमा पनि धेरै खर्च नहुने, इन्धन खर्च नलाग्ने, चलाउँदा भएको कसरतका कारण स्वस्थ पनि भईने, अन्य सवारीको तुलनामा दुर्घटना पनि कम हुने, दुर्घटनै भए पनि कम नोक्सान हुने, केही गरी हराएमा पनि धेरै मुल्यबाराबरको नोक्सान नहुने । त्यस्तै न त यातायत विभागमा दर्ता गर्नु पर्ने, न त सवारी कर तिर्नुपर्ने, नत व्लु बुक र लाइसेन्सको कारण ट्राफिक समस्या, न त बन्द हडतालमा समस्या हुने । साइकल चलाउन पहाडमा र धेरै लामो यात्रामा कठिन होला नत्र नेपालका काठमाडौँ लगाएतका विभिन्न ठूला सहरलाई साइकलको माध्यमबाट स्वच्छ सहर बनाउन सकिन्छ ।


साइकल चलाउँदा व्यक्ति, सहर, राष्ट्र र सिंगो संसारलाई फाइदा पुग्छ भने यसलाई अभियानकै रुपमा किन नचलाउने ? प्रधानमन्त्री भट्टराई १५–२० लाख पर्ने गाडी चढ्छन्, उर्जा मन्त्री विष्ट कार्यकाल सकेपछी ट्यक्सीमा घर फर्कन्छन् भने हामी जनताले पनि साइकल चढ्न किन हिच्किचाउने ? अव सचिवहरु देखी सबै सरकारी कर्मचारीहरुले साइकललाई कार्यालय आउनेजाने बहान बनाउनु प¥यो । काठमाडौँको कुनै ठाउँ पनि साईकल नजाने छैन होला, साइकलमै घरबाट कार्यालय जान सकिने भए बेकार सरकारी ढुकुटी खर्च गरेर किन महँगा गाडी चढ्नु पर्यो त ? आफनो व्यक्तिगत काममा सरकारी गाडी प्रयोग गर्नु पनि भ्रष्टाचार हो तर सरकारी कर्मचारी यसलाई आफ्नो अधिकारको रुपमा लिन्छन् । हुन त सरकारी गाडी सरकारी कर्मचारी लगाएत अरुलाई पनि दुहुनो गाई नै हुँदो रहेछ । यसको एउटा उदाहरण रामेछापमै मैले देखेको छु । जिविस रामेछापका एक डाईभरले आफ्नो सोलार व्यापारमा जिविसको गाडीलाई होम डेलिभरीको लागि प्रयोग गरे । यहाँका पत्रकार पनि कतै जानु परे कुनै गाडी भएको कार्यालय प्रमुखलाई फोन गरेर बोलाएर प्रयोग गर्छन् । अनि केही महिना अगाडी आफुले प्रयोग गर्न नपाएको झोँकमा व्यक्तिगत प्रयोजनमा जिविसको गाडी प्रयोग भएको भन्दै स्थानिय पत्रिकामा छापे जवकि त्यस भन्दा अगाडी उनै पत्रकार सोही गाडी प्रयोग गर्थे घुमघामको लागि । यो त एउटा सानो उदाहरण मात्रै हो सरकारी सवारीको दुरुपयोगको । त्यसैले सरकारी खर्चको ठुलै परिमाण सवारी खर्चमा खर्च भएको अनुमान गर्न सकिन्छ । त्यसैले सरकारले नै गाडी प्रयोगमा कडाई गरी साइकल प्रयोगमा कर्मचारीहरुलाई प्रोत्साहन गर्नु पर्छ । यो सरकारी मात्रै नभएर अन्य संस्थान, बैंक लगाएत निजीक्षेत्रमा समेत लागु गर्न सकिन्छ ।
सहरका केही कलेजहरुले कलेजमा मोटरसाइकल प्रतिबन्ध गरेर राम्रो काम गरेका छन् यसमा साइकल चलाउने अभियान थपे सुनमा सुगन्ध नै हुन्थ्यो । सबै कलेजका विद्यर्थीले आफुलाई भविष्यका कर्णधार अनि भोली शिक्षित, सभ्य र जिम्मेवार नागरिकको रुपमा प्रस्तुत हुने विचार राख्छ भने यो अभियान बाटै पो सुरु गर्ने पो हो की ?
“भ्रष्टाचारीलाई किरा परोस्” अभियान चलाउने रविन्द्र मिश्र, मह जोडी लगाएतका प्रतिष्ठित व्यक्ति सम्मिलित फेसबुक प्रयोगकर्ताहरुको युनाइटेड्स ग्रुपले अव यो अभियान साइकल चलाउन प्रेरित गर्ने नारा टिसर्टमा लेखी चलाउने अनि आफ्ना हरेक अभियानमा साईकल प्रयोग गर्ने पो होकी ? अनि बेलाबेलामा मोटरसाइकल र्याली चलाउने संघसंस्था र राजनैतिक दलहरुले पनि आफ्नो अभियानमा अभियानकै रुपमा साइकल पो प्रयोग गर्ने हो की ?

No comments:

Post a Comment

Please Comment here!