Thursday, June 30, 2011

Love letter

मिति : २०६८/०३/११
शनिवार
मेरी मुटु की धड्कन पल्मोनरी धमनी,
पल्मोनरी शिरा

मेरी सुन्तली भनेर भन्दा रिसाउली होली ।
नाम सुन्तली नै भए पनि तिमीलाई मन पर्ने मेरी स्वीटी ।



अक्सफोर्ड डिक्सनरी ले पनि परिभाषित गर्न नसक्ने र गुगलले पनि सर्च गर्न गरेर भेटाउन नसक्ने माया ।
म एक छिन अफलाइन हुँदा तिमी रिसाउँथ्यौ । आज त झन शनिवार सधैं भिडियो च्याट गर्ने दिन म तालिममा व्यस्त छु के मोरी त्यै भएर तिमी रिसाउली भनेर मैले यो चिठी लेखेर ईमेल गर्दै छु ।

तिमीलाई लाग्न सक्छ हाम्रो प्रेमलाई नै चुनौती दिने गरी कस्तो तालिममा व्यस्त हुन लागेछ मेरो धुर्मु भनेर । त्यसैले यस तालिम कति महत्वपुर्ण रछ भनेर तिमीलाई बुझाउन मैले यो लभलेटर लेख्दै छु । सबै लेखिरहनु भन्दा हिजो एक दिन भरी सिकेका कुराहरु यस पत्रमा लेख्दै छु । यति पढेपछी तिमीले यस तालिमको महत्व बुझ्ने छौ र म सँग रिसाउन्नौ भन्ने मेरो अपक्षा छ  ।

मेरी सुन्तु ।
हाम्रो कक्षामा अघिल्लो दिनको समिक्षा पछि प्रत्येक दिन परिक्षा हुन्छ । किनकी यो अरु तालिम जस्तो लरतरो तालिम हैन के । हिजो भएको परिक्षामा चाँही के अचम्म भयो भने, अघिल्लो दिन ० अंक ल्याउने हाम्रा साथी रेनुका पाठक ले ६ अंक ल्याएर प्रथम भइन् । यसबाट मेहनत गरे परिवर्तन र सफलता चाँडै सम्भव छ भन्ने सिकाई भयो । त्यसै गरी परिक्षाकै क्रममा जाँचकीले गल्ती गरेको संका लागेमा रिट हाल्न पाउने व्यवस्था थियो जसमा रिट दिने वा पर्ने जसको गल्ती भयो उस मध्ये गल्ती गर्नेले नगर्न बाट १ नम्बर खोसेर दिइने व्यवस्थाले गर्दा दुई दिन सम्म ० अंक ल्याउने अन्जना लामाले १ नम्बर पाइन् । एउटाको मुर्खताले अर्कोको भाग्य बन्छ भनेको त यो पो रहेछ ।

विषय वस्तु प्रवेश गर्ने क्रममा हामीले शक्ति विश्लेषणको वारेमा छलफल ग¥यौं । रोटीचित्र मार्फत शक्ति विश्लेषण गर्न सिक्यौं । जसको निचोड थियो शक्ति सँग जो नजिक हुन्छ, उसले अवसर धेरै पाउँछ । उ स्वयं पनि शक्तिशाली बन्न सक्छ । यो कुराको सहजीकरण कोपिला डंगोलबाट भएको थियो ।

मेरी हुनेवाला भुन्टेकी आमा ।
मलाई मैले सिकेको कुराको सँगै प्रशिक्षक एस.एल.सी. सरको पनि कुरा गर्न मन लाग्छ । कति काइदाको प्रशिक्षक भने नाम सोना सोनामा पनि लाल सोना मान्छे त झन नाम भन्दा पनि कति काइदाको उहाँको डाइलग त पोइन्ट पोइन्टमा खुत्रुक्कै पार्ने खालको । उहाँको एक सेसन त के एक शब्द पनि सुन्न भुलियो भने हाम्रो ठूलो भुल हुनेछ जस्तो मलाई लाग्दछ । त्यसैले त एक्सन एडले उहाँलाई उहाँको बोलीको शब्द शब्दलाई थुप्रो पैसा तिरेर ल्याएको होला ।

हिजो सोना सरको अनुसार रिफ्लेक्ट को मुल मर्म भनेकै मौनताको संस्कृति तोड्नु र आधिकारीक संवाद हो । यस विधिमा पाउले फ्रेरेको सिद्धान्त र पि.आर.ए. टुल्सको प्रयोग गरिन्छ । रिफ्रलेक्टमा लक्षित वर्गको आफ्नै पिडा र सवालको बारेमा छलफल गर्ने र उनीहरुकै अगुवाईमा संगठित र एकजुट गरी तर्क गर्न सक्षम बनाइन्छ । तर यो धुर्मलाई के अचम्म लागेको छ भने हामीलाई यस्तो प्रभावकारी तालिम दिने सोना सरले त रिफ्लेक्टको मुल मर्मअनुसार यत्रा पढेलेखेका धेरैजसो हाम्रा साथीहरुको मौनता तोड्न सक्नु भएको छैन भने हामीले त झन् पिछडिएका र कमजोर समुदायको मौनता कसरी तोड्न सक्छौं होला ? त्यसैले त मेरी सुन्तु यो रिफ्लेक्ट चलाउनु भनेको तिम्रो घरमा म जाँदा तिम्रो बाबा अचानक घर आउँदा तिम्रो घरको झ्यालबाट हाम फालेर भाग्नु भन्दा पनि गाह्रो जस्तो मलाई लाग्यो । त्यसैले १० दिनको लागि हाम्रो माया स्थगित गरेको छु नि ।

सोना सरले. अन्तिम तिर बुझाई र सिकाई विचको हाम्रो भ्रम तोडिदिनु भयो । सुन्दा उस्तै अर्थ लाग्ला जस्तो लाग्ने यी शब्दमा कति फरक रहेछ भने बुझाई भनेको मात्र मनले कुरा बुझ्नु र सिकाई भनेको सिकेको काम गर्न इच्छुक भन्ने अर्थ लाग्ने रहेछ । त्यसैले हामीले कुनै कुरा बुझ्नु भन्दा पनि सिक्नु जरुरी छ । सिकाईले मात्र परिवर्तन ल्याउन सक्ने रहेछ ।

सुन्तली ।
कक्षाको अन्त्य तिर सोना सरले. बडो काइदाको कोटेसन भन्नु भयो, संसारको दुई जानालाई सुधार्न सकिदैन । मलाई के लाग्यो भने जति पटक आमाले कुटेपनि आमाको लालीपाउडर चोरेर लाउने तिमी र जति पटक तिम्रो बाउले तिम्रो घर आउँदा लौरो ले ठट्टाएर लखेट्दा नि तिम्रो घरमा जाने म गरी हामी दुई जना त होला नि । यो कुरा सोना सरले कसरी थाहा पाउनु भएछ ? तर होइन रहेछ । त्यो त मुर्ख र मुर्दा पो रहेछ ।

यी यस्ता बडो रमाइला र अत्यन्तै महत्वपुर्ण कुराहरु यो तालिममा मैले सिक्दैछु । अझै कति बाँकी कुराहरु म तिमीलाई भेटे पछि बताउने छु । तिमी त सहर पसेर सुन्तली बाट स्वीटी भएछौ । म त त्यही तिमीलाई माया गरी राख्ने धुर्मुस म परिवर्तन भएको छैन । सामाजिक परिचालनको माध्यम बाट समाज परिवर्तन गर्न खोज्दै छु । मलाई तीन दिनमै माया मारेकी छैनौ होला भन्ने आशै आशमा विदा हुन्छु ।
                                    
अलविदा ।

                                    उही तिम्रो हुनेवाला छोराको बाउ
                                      तिम्रो  हुन लागेको पोई
                                           धुर्मु

No comments:

Post a Comment

Please Comment here!