Monday, October 24, 2011

फेसबुक साथीलाई चिठी

मिति: २०६७-११-२७

प्रिय मित्र,
धेरै धेरै माया,
गुगलले सर्च गरेर पनि नभ्याउने सम्झना ।

तपाईलाई अचम्म लाग्न सक्छ, यो अहिलेको वैज्ञानिक युगको ई–जेनेरेसन ले चिठी लेखेको देख्दा । हो जसरी तपाईलाई यो चिठी देख्दा अचम्म लाग्छ त्यसरी नै मलाई अचम्म लागेका केही कुराहरु म यस पत्र मार्फत तपाईलाई व्यक्त गर्न चाहान्छु । साँच्चै साथी अचेल त यसरी चिठी लेख्ने त चलानै हराए, मेरा बाबाले आफ्नो पोखरामा रहनुभएको साथीलाई चिठी लेखेको देखेको थिएँ। धेरै पहिला होइन, २०५५ साल तिर अर्थात आज भन्दा १२ वर्ष पहिले । कति परिवर्तन भएको छ,यो १२ वर्षमा, अबको १२ वर्षमा त झन् के हुने हो भन्न सकिन्न ।
सर्वप्रथम त म तपाईलाई धन्यवाद दिन चाहान्छु । किनकी तपाई संसारकै लोकप्रिय सञ्जाल फेसबुक मार्फत साथी बन्नुभएको छ । तपाईलाई आफ्नो साथी भन्न पाउँदा मात्रै पनि खुसी लाग्छ र गर्व पनि ।
यस भन्दा अगाडी न कतै भेटेको, न चिनेको, न कुनै नाता पर्ने थियौं हामी तर आज एक अर्काको साथी भएका छौँ । एक अर्काको एल्बम मार्फत हामीले एक अर्कालाई देखि पनि सकेका छौं । मलाई तपाईको र तपाईलाई मेरो सबै कुरा थाहा भई सकेको छ । कति नजिकको साथी भई सकेको छौँ हामी यो फेसबुक मार्फत । अब त यो फेसबुक विनाको संसार त एकछिन पनि कल्पना गर्न सक्दिनँ म त । 
हामी एक अर्काको स्टाटस, नोट र फोटोहरुमा कमेन्ट गर्छौ । तपाई बेलायतको लण्डनमा म नेपालको रामेछापमा । बेलायत सात समुन्द्र पारीको देश हो भन्ने सुनेको थिएँ सानोमा । हाम्रो गाउँको कप्तान बाजे दोस्रो माहायुद्ध लड्न बेलायत जानुभएको थियो रे, त्यतिबेला बेलायत बाट एक महिनामा उहाँ गाउँ आईपुग्नुभएको थियो रे । आज तपाई त्यै बेलायत र म त्यहि गाउँमा छु,तर हामी कति नजिक छौं । यस फेसबुकले हामीलाई सँधैभरी सँगै राखेको छ । 
तपाई “लण्डन बाट बर्लिन जाँदैछु” भनेर स्टाटस लेख्नुहुन्छ । म “घरबाट मामाघर जाँदैछु ।” भनेर लेख्छु । 
तपाई “वाल स्ट्रिटमा पिज्जा खाएँ ।” भन्नुहुन्छ । म पनि खेताला जाँदा बेसीमा तामाको अचार सित ढिडो खाएको कुरा गर्छु ।
ढिंडोमा के के मसला हालेर पकाउँछ ?” यस्तै कमेन्टहरु थुप्रै आउँछ मेरो स्टाटसमा । तपाईकोमा भन्दा मेरो स्टाटसमा कमेन्ट बढी आउँछ किनकी हाम्रा कति साथीहरुले ढिडो देखेको, खाएको छैन । 
तपाईको प्रोफाइल हेर्छुृ म, भिलेजपार्क क्याफेमा काम गर्नु हुदो रहेछ । म ज्ञान ज्योति प्रा.वि.मा. पढाउँछु । च्याटमा सोधेँ तपाईको तलब कति छ ? भनेर तपाईले जवाफदिनु भयो“ सत्र सय त हो नि ।” कस्तो मिलेको मरो पनि तलब त त्यति नै छ, तर तपाईको डलरमा रैछ, मेरो रुपैयाँमा । मैले खाने तलब पनि सत्र सय नै हो र मैले पढेको पनि सत्र कक्षा नै हो । कति राम्रो तलब छ मेरो, पढाई अनुसार ।
अरु धेरै कुरा यहाँ लेखिरहन बिजुलीले साथ दिदैन । यहाँ बिहान बेलुका ४-४ घण्टा मात्रै बिजुली आउँछ । त्यै भएर बाँकी कुराहरु अर्को चिठीमा लेखौंला । तपाई त मोबाइलबाट फेसबुक चलाउनु हुँदो रहेछ । कति सजिलो २४ सै घण्टा फेसबुकमा, आफ्ना साथीहरु सँग । मेरो पनि आउँछ होला कुनै दिन मोबाइलबाट फेसबुक चलाउने । किनकी मेरो तलब नबढे पनि मोबाइलको भाउ भने वर्षेनि घट्दो क्रममा छ । त्यस बेला फेसबुक चल्ने मोबाइल किनौँला । अनि सम्पर्कमा रहौला हामी २४ घण्टा । अहिलेलाई अलविदा......


                                                                                                     उही तपाईको फेसबुक साथी 
                                                                                                                Arbindaas

आफ्नै फेसबुक नोट बाट साभार

No comments:

Post a Comment

Please Comment here!